Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

जापानमा लिंग र योनीको पर्व


जापानमा सयौँ वर्षदेखि एउटा अनौठो पर्व मनाइन्छ । १५ सय वर्ष भन्दा पहिलेदेखि मनाउँदै आएको यो पर्वको नाम लिंग-योनी पर्व हो ।
वसन्त ऋतुमा मनाइने यो पर्व राम्रा सन्तान जन्मियून् भन्ने कामना गर्दै मनाउने गरिन्छ । यसमा लिंग र योनी आकारका आकृतिहरुको पुजा आजा तथा रथयात्रा समेत गरिन्छ । हामीकहाँ शिवलिंगको जल खाएजस्तै यहाँ लिंग र योनीकै आकार तथा रंगका आकृतिहरुको आराधनामा स्थानीय बासिन्दा समर्पित भएका हुन्छन् ।

जापानमा विभिन्न सहरमा वसन्त ऋतुभरीमा आ आफ्नै तरिकाले लिंग-योनी पर्व मनाइने भएपनि हरेक वर्ष मार्च १५ तारेखमा कोमाकी सहर क्षेत्रमा मनाइने पर्व उल्लेखनीय छ । यो पर्व अन्तरगत अघिल्लो दिनमा छिमेकी टोलले योनी जात्रा मनाउँछ भने अर्को दिन अर्को टोलले लिंग जात्राको आयोजना गर्दछ । लिंग र योनी दुबै जात्रामा सबै टोलका मानिस जम्मा हुन्छन् । यो पर्वमा के बच्चा, के बुढा सबै सहभागि हुन्छन् । अभिभावकले आफ्ना सन्तानहरुलाई राम्रा लुगा लगाइदिएर असल नातिनातिनाको कामना गर्दै मेलामा सहभागि गराउँछन् । ओगाटा मन्दिर क्षेत्रमा योनी आकारको ठूलो आकृतिलाई ४० जना युवाले बोकेर जात्रा अघि बढाउँछन् । त्यसअघि मन्दिरमा बालबालिकाहरुले पूजा गर्नका लागि स-साना योनीका आकृतिहरु लग्ने गर्दछन् ।

त्यस्तै लिंग जात्रामा पनि १ लाख भन्दा बढि मानिसको सहभागिता रहन्छ । स्थानीय मानिसहरुले १३ फिट लामो काठको रंगीन लिंग आकृतिलाई बोकेर जात्रा सुरु गर्छन् र उनीहरुको पछि सबै स्थानीय बासिन्दा प्रार्थना गर्दै हिँडेका हुन्छन् । लिंग यात्रा झण्डै ९० मिनेटसम्म चल्दछ । धरती मातालाई आकाश पिताले गर्भवती नगराएसम्म प्रकृतिको चक्र अघि बढ्दैन भन्ने मान्यतामा यो पर्व मनाउने गरिएको हो । यो पर्वमा खाइने मिठाइ, चकलेट, केक तथा प्रदान गरिने अरु उपहार पनि लिंग तथा योनी आकारकै हुन्छन् ।

जापानी समाज यौनको मामिलामा उतिसारो खुल्ला नभएपनि यो पर्वको महत्व भने बढिरहेको छ । जापानमा जन्मदर घटेर बुढाबुढीहरुको संख्या बढिरहेको अवस्थामा लिंग-योनी पर्वको माध्यमबाट मानिसहरुमा यौन तथा परिवारको रुची थप्न सकिने समेत कतिपय समाजशास्त्रीहरुको मत छ ।

No comments:

Post a Comment