Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

प्रहरी ब्यारेकमा उडुसको दादागिरी



अपराधीहरूबाट समाजको सुरक्षा गर्न खटिने प्रहरी उडुसबाट ‘असुरक्षित’ बनेका छन् । उपत्यकाका ब्यारेकमा उडुस–आतंकले प्रहरीको निदहराम गरेको छ ।

विशेषगरी तल्लो दर्जाका प्रहरी उडुस आतंकबाट पीडित भएका हुन् । पटक–पटक औषधि हाल्दासमेत नमरेकाले गर्मी मौसमभरि उडुसको टोकाइ सहनुपरेको ती प्रहरी बताउँछन् । उपत्यकाका सबै प्रहरी ब्यारेक उडुसपीडित भए पनि यो समस्याबाट सबैभन्दा धेरै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी आतंकित छन् । जीर्ण ब्यारेक र अस्तव्यस्त वातावरणका कारण उडुसबाट प्रहरी परिसर काठमाडौंका प्रहरी तुलनात्मक रूपमा धेरै पीडित हुनुपरेको हो ।
गोदामझँ लाग्ने परिसरको ब्यारेक क्षमता ३० जनाको भए पनि अहिले ६० जनाभन्दा धेरै बस्ने गरेका छन् । ब्यारेकमा जुनियर अफिसर सई तहका ३ र असई तहका ४ जना सुत्ने गर्छन् भने बाँकी सबै हवल्दार र प्रहरी जवान सुत्छन् । ब्यारकेमा सुत्ने एक प्रहरी जवानका शब्दमा राति उडुस जुलुस लिएर निस्कन्छन् । उनले भने, ‘सुरु–सुरुमा त यहाँको उडुस देखेर आङ सिरिंग हुन्थ्यो, तर अब त बानी पर्‍यो ।’ ब्यारेकको भित्ताभरि उडुस मारेको दाग देखाउँदै अर्का ती जवानले भने, ‘कतिको त भित्ताभरि छाप्पिएर आएका उडुस मार्दै रात बित्ने गर्छ ।’

चार वर्षदेखि ब्यारेकमा बस्दै आएका अर्का एक प्रहरी जवानका अनुसार दिनभरिको थकानका कारण कति प्रहरी त टोकाइ सहेरै निदाउँछन् । उनले भने, ‘थकानका कारण निद्रा लाग्छ, कहाँ उडुस मारेर बस्ने ? शरीरै छाडेर सुतेपछि ढाडिन्छन्, जान्छन् ।’ अर्का एक सईले झ्यालको पुरानो काठको खापा देखाउँदै भने, ‘१० बजेपछि खापाका प्वाल र भित्ताबाट पुच्छर उम्रिएका उडुस निस्कने गर्छन् ।’
ब्यारेकको छिँडीमा प्रहरी जवान तथा हवल्दारका लागि खाना पकाउने भान्छाबाट निस्किएको धुवाँको मुस्लो सिधै माथिल्लो तल्लामा पुग्छ । ‘धुवाँकै कारण पनि अरू ठाउँमा भन्दा यहाँ धेरै उडुस फैलिएको हुन सक्छ,’ एक जवानले सौर्यसँग भने ।
परिसरकै माथिल्लो तल्लामा बनाइएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको ब्यारेक पनि उडुस आतंकबाट मुक्त हुन सकेको छैन । प्रत्येक रात १२ देखि १४ जना सुत्ने गरेको जानकारी दिँदै महाशाखाका एक असईले भने, ‘उडुस आतंक यहाँ पनि छ तर परिसरको ब्यारेकमा जस्तो भने छैन ।’
संरचनाका आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रहरी ब्यारेक तुलनात्मक रूपमा सुविधासम्पन्न देखिए पनि उडुस आतंकका कारण त्यहाँका प्रहरी आजित बनेका छन् । पालैपलो गरी सुत्नुपर्ने बाध्यता सुनाउँदै महाशाखाका एक प्रहरी जवानले भने, ‘यो उडुस भन्ने जन्तु यस्तो ज्याद्रो हुँदो रै’छ , जति औषधि हाले पनि नमर्ने ।’
ब्यारकेमा तीन सय ५० भन्दा धेरै प्रहरी कर्मचारी बस्ने गर्छन् । तीमध्ये सबैभन्दा धेरै हवल्दार र जवान तहका छन् । उडुसको टोकाइबाट पीडित हुनेको संख्या पनि उनीहरूकै धेरै छ । ब्यारेकका अर्का एक प्रहरी जवानले भने, ‘अधिकृत तहका प्रहरी अधिकांशको काठमाडौंमा घर भएकाले राति सुत्न उनीहरू घरै जान्छन्, राति ड्युटी हुनेहरूका लागि पनि कार्यालयमै सुत्ने व्यवस्था छ, त्यसैले ब्यारेकभित्र हुने उडुस आतंक उनीहरूले भोग्नुपर्दैन ।’
महाशाखाका एसएसपी लब विष्टले महाशाखाको ब्यारेकमा उडुस नभएको दाबी गरे । उनका अनुसार गर्मी महिनामा फाट्टफुट्ट देखिए पनि औषधि हालेपछि समस्या समाधान हुने गरेको छ । उनले भने, ‘महाशाखाको ब्यारेकमा उडुसको समस्या छैन, भएका पनि औषधिले ठीक पारिसक्यो ।’
प्रहरी परिसर काठमाडौंका एसएसपी जयबहादुर चन्दले उडुस तथा लामखुट्टेका कारण तल्लो तहका प्रहरी कर्मचारीले दु:ख पाएको स्विकार्दै मातहतका सबै निकायमा उडुस र लामखुट्टे नियन्त्रण गर्ने अभियान नै चलाएको जानकारी दिए । उनका अनुसार मातहतका सबै प्रहरी ब्यारेक अहिले रंगरोगन गरिनुका साथै चर्किएका भित्ता टाल्ने अभियान सुरु गरिएको छ । चन्दले भने, ‘काठमाडौंका प्रहरी १८ घन्टा ड्युटीमा खटिन्छन्, उनीहरू राति सुत्न पाएनन् भने ‘पर्फर्मेन्स’ मै असर पर्छ । त्यसैले पछिल्लोपटक हामीले उडुस तथा लामखुट्टे नियन्त्रण गर्ने अभियान नै चलाएका हौँ ।’

No comments:

Post a Comment