Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

प्रेमपत्रले कुटाइ खुवायो: -नयनराज पाण्डे, साहित्यकार



म अझै अलमलमा छु, मेरो पहिलो प्रेम एकतर्फी थियो कि दुईतर्फी । उनीप्रतिको मेरो प्रेम व्यक्त हुन पाएन । तर, सपनामा मैले धेरैपटक उनीसित प्रेमका गन्थन गरेँ । विपनामा चाहिँ म उनको अगाडि बोल्नै डराउँथेँ । बोल्न खोज्यो कि ओठ–मुख सुकिहाल्थ्यो । बोल्न खोजेका कुरा भुसुक्कै बिर्सन्थेँ ।
तर, मेरो पहिलो प्रेम हेराहेर र अलिकति मुस्कराउनेसिवाय फिटिक्कै अघि बढेन । उनी र म एउटै स्कुलमा पढ्थ्यौँ । मभन्दा एक कक्षा जुनियर थिइन् उनी । आठ कक्षामा पढ्थेँ त्यतिबेला । मेरो उमेर १४ वर्षको थियो । त्यो बेलाको उमेरकै प्रभाव त होला नि । स्कुलको पछाडितिरको सानो चौरमा भलिबल खेल भइरहेको थियो । हाम्रो कक्षाकोठा माथि थियो । हामी केही विद्यार्थीले कौसीमै बसेर भलिबल हेरिरहेका थियौँ । उनको कक्षाकोठा त तल थियो । तर, भलिबल हेर्न उनी पनि माथि आएकी रहिछन् । त्यही आँखा जुधेको जस्तो भयो । उनी हाँसिरहेकी थिइन् मतिर हेरेर । बस्, त्यही क्षण मभित्र प्रेमको सानोतिनो आगो दन्किहाल्यो । सिनेमा खुब हेर्थेँ म । सिनेमामा प्रेम त्यसरी नै पहिलो हेराइमा भएको देखाइन्थ्यो । त्यसको असर पनि होला । मैले उनको त्यही हेराइलाई प्रेम भन्ठानेँ ।
त्यतिबेला उनलाई देख्दा स्वर्गकी परीलाई देखेको अनुभूति हुन्थ्यो । मेरो हालसालै प्रकाशित उपन्यास ‘लू’ मा मैले उनको सुन्दरताको बयान गरेको छु । वास्तवमा ‘लू’ की नायिका ‘नुसरत’को सुन्दरताको बयान गर्दा मैले उनैलाई सम्झिएको हुँ । उनका आँखा नुसरतका जस्तै थिए । बदामी आँखा । अलिअलि निलोपन भएको । टाढैबाट पनि उनको आँखा देखिँदा उनी हाँसेकी छिन् कि रिसाएकी छिन् भन्ने थाहा हुन्थ्यो । मलाई लाग्छ, मेरो उनीप्रतिको प्रेमभाव उनको त्यो मादक आँखाकै कारण पलाएको हो । त्यस्तो सम्मोहक आँखा त त्यसपछि मैले आजसम्म पनि देखेको छैन । लाग्थ्यो, उनको मनमा पनि मेरै जस्तो भावना छ । उनी पनि मलाई कैलेकाहीँ निक्कैबेर हेर्थिन् । हेराइमा माया नै छचल्किएको जस्तो लाग्थ्यो । त्यस्तो बेलामा मेरो मुटु बेपत्तासित उफ्रन्थ्यो, छाती नै छेडेर निस्केला किजस्तो ।
कतिसमय उनीप्रतिको प्रेम लुकाएर राख्नु भन्ने लाग्यो । एकपटक आँट गरेँ । एउटा साथीले प्रेम भन्ने कुरा प्रकट गर्नै पर्छ भनेर उक्सायो । हो जस्तो लाग्यो । उसैले प्रेमपत्र लेख्न सिकायो । मैले उसले जसोजसो भन्यो, उसैउसै लेखेर एउटा सानदार प्रेमपत्र तयार गरेँ, केही सायरीहरू पनि राखेर । एकदुई दिन प्रेमपत्र खल्तीमा राखेर हिँडे । तर, उनको अगाडि पर्‍यो कि हातखुट्टा काम्न थालिहाल्थे । प्रेमपत्र दिनै सकिनँ । साथीले हिम्मत देखायो । ‘ल्या, तेरो प्रेमपत्र मै लगेर दिन्छु’ भन्यो । मैले पत्याएँ । स्कुलमा हाफटाइमको मौकामा ऊ मेरो प्रेमपत्र उनलाई दिन हिँड्यो । तर, बीच बाटोमा पुगेपछि ऊ मभन्दा पनि नर्भस भयो । अनि उनलाई दिनपर्ने प्रेमपत्र खुरुक्क शिक्षकको हातमा राखिदियो । कुरो घरसम्म आइपुग्यो । बुबाबाट चुटाइ खाएपछि प्रेमको भूत ओर्लियो । सायद स्कुल पढ्दा ताका नै उनको अरूसितै बिहे पनि भै’दियो ।
अहिले आएर म आफ्नो प्रेमको विश्लेषण गर्छु । वास्तवमा त्यो प्रेम थिएन । एउटा आकर्षण थियो । उमेरले उत्पन्न गरेको प्रभाव तर आज पनि जबजब पहिलो प्रेमको कुरा हुन्छ । म उनलाई सम्झन्छु । उनको त्यो बदामी र मोहक आँखालाई सम्झन्छु र सोच्छु, अचेल ती आँखा हाँस्छन् कि हाँस्दैनन् । किनभने अचेल सुन्छु, कताकता, उनको लोग्नेले अर्की ल्याएको छ रे † मन दुख्छ । उनको हाँस्ने आँखाबाट आँसु बगेको छजस्तो लाग्छ ।

No comments:

Post a Comment