Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

गर्भवती दुई हिरोइनलाई दही च्युरा


फिल्मका हिरोइनहरु एकअर्काप्रति ईर्ष्यालु हुन्छन् भनिन्छ। तर, बिहीबार उनीहरुले यो गलत पुष्टि गर्दै सुमधुर जमघट गरे। फिल्मबाट केही समय विश्राम लिएका हिरोइनहरू एक हिरोइन ऋचा घिमिरेको घरमा पुगे। गर्भवती दुई अभिनेत्री ऋचा र सञ्चिता लुइँटेललाई दहीच्युरा खुवाउन उनीहरुको जमघट तय भएको थियो। सञ्चिता, अरुणिमा लम्साल र मेलिना मानन्धर घरबाटै आफूले बनाएका विभिन्न परिकार बोकेर ऋचाको घरमा दिउँसो भेला भए।
अरुणिमा र मेलिना मिलेर सञ्चिता र ऋचालाई दहीच्युरा खुवाएका थिए। अरूणिमाले घरैबाट ल्याएको परिकार खुवाइन् भने मेलिनाले चाहिँ ऋचाकै घरमा पकाएर दिइन्। दुई महिनाअघि अरुणिमाकी छोरीको पास्नीमा पनि यी सबै हिरोइनले आशीर्वादा दिएका थिए।
अहिले ऋचा नौ र सञ्चिता सात महिनाका गर्भवती छन्। पाठेघरमा पानीको मात्रा बढेपछि विगत एक महिनादेखि आराम गरिरहेकी ऋचाले बिहीबार चाहिँ रमाइलो गरिन्। 'आराम गर्नुपर्ने अवधिमा किताब पढ्ने र फिल्म हेर्ने गरिन्थ्यो। आजचाहिँ एकदमै रमाइलो भयो,' उनले अनुभव सुनाइन्।
आफू नजिकका साथी भेट्दा हिजोआज फिल्मभन्दा गृहस्थी जीवनको कुरा हुने उनले बताइन्। 'सबैले आ-आफ्ना नानीका बारे कुरा गर्छन्। उनीहरूको कुरा सुनियो। आफ्ना समस्या पनि सेयर गरियो। त्यसो गर्दागर्दै दिन बितेको पत्तै भएन,' उनले भनिन्।
अहिले ऋचाको तौल ७७ केजी पुगेको छ। कुनै बेला ५३ केजी रहेकी उनी धेरै मोटाएको महसुस गर्दै हल्का व्यायाममा रम्न थालेकी छिन्। चिकित्सक ममता बरालका अनुसार आगामी असार २४ उनले बच्चालाई जन्म दिनेछिन्।
'मलाई स्वस्थ बच्चा चाहिएको छ। छोराछोरी जे भए पनि फरक पर्दैन, दुवै प्यारो हुनेछ,' उनले सुनाइन्। माछा र मिठाइ धेरै खाने ऋचालाई दही पनि मनपर्ने परिकार हो। 'घरमा तयार गरेको खाना पहिलाभन्दा धेरै खाने गरेको छु,' बी पोजेटिभ ब्लड ग्रुपकी उनी स्वस्थ बच्चा जन्माउने कुरामा कन्पि्कडेन्ट छिन्।
पछिल्लो पटक 'ब्रेकफेल' फिल्मको सुटिङ गरेकी उनको तत्काल फिल्ममा फर्किने योजना छैन। झन्डै १० महिनापछि फेरि भेटघाट थालेकी सञ्चितालाई बिहीबार नौलो लाग्यो। 'साथीहरूसँग धेरैपछि भेट हुने अवसरका लागि आज बहानामात्र मिलेको हो,' उनले बताइन्।
बेडरेस्टमा रहेकी उनी हिरोइन साथीहरू भेट्नकै लागि गौरीघाटस्थित ऋचाको घर पुगेकी थिइन्। अरुणिमाले आफ्नी छोरी पनि साथमा लगेकी थिइन्। तर सञ्चिता एक्लै पुगिन्। चिकित्सक ज्योति अग्रवालका अनुसार सञ्चिता साउन २५ मा सुत्केरी हुँदैछिन्।
'फिल्म क्षेत्रका हामी नजिकका साथी हौं, फोनमा दुःखसुखका कुरा त हुन्थ्यो। तर, भेट्ने साइत भने आज बल्ल जुर्‍यो,' सञ्चिता खुसी देखिइन्। बच्चाकै विषयमा धेरै बातचित चलेको उनले बताइन्। उनले दही, च्युरा, मिठाई र गिफ्ट समेत लगेकी थिइन्। 'कामका कुरालाई लिएर ईर्ष्याको भाव राख्यो भने मित्रता भन्ने कुरा नै हुँदैन थियो,' उनले भनिन्, 'अहिले सबैको मुखमा बच्चा हुर्काउने कुरा नै झुन्डिएको छ, आमाहरुको समूहमा ऋचा पनि थपिन लागेकोमा हामी खुसी छौं।'
बालबच्चाको बहानामा आफ्ना समकालिनसँग भएको यो भेटघाटलाई जारी राख्ने उनीहरुको अठोट छ। आफूहरुको मेलमिलाप अरुले अनुसरण गरे झन् खुसी हुने मेलिना बताउँछिन्। मेलिनाका पति तथा हिरो मुकेश ढकालको पनि उपस्थिति थियो।
अरुले जेसुकै भने पनि आफूहरुबीच कुनै मनमुटाव नभएको अरुणिमाले प्रष्ट पारिन्। सञ्चिता पहिलोपटक गर्भवती हुँदा पनि यी हिरोइनहरुले अरुणिमाको घरमा दहीच्युरा खाने कार्यक्रम आयोजना गरेका थिए।
'सबैले आफ्नो आफ्नो काम गर्ने हो। काम र व्यक्तिगत जीवनलाई सँगै राखेर हेर्ने हो भने मात्र ईर्ष्या पैदा हुन्छ। हामीले त्यस्तो गरेनौं। त्यसैले आजसम्म पनि हामी एकदम मिल्ने साथी भएका छौं,' अरुणिमाले भनिन्। अर्की हिरोइन मेलिनाको निवास ऋचाकै छेउमा छ।
साँझसम्म चलेको जमघटमा धेरै हिरोइनका गुरु तथा नृत्य निर्देशक गोविन्द राईको पनि सक्रियता थियो। भान्छामा समेत सघाएका उनले भने, 'हिरोइनहरुजस्तै नेताहरु मिले कति राम्रो हुन्थ्यो।'

No comments:

Post a Comment