Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

डाक्टर पनि सौन्दर्य प्रतियोगितामा



धरान, श्रावण १४ - चिकित्साशास्त्रमा एमबीबीएस गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हाउस अफिसर डा. एलिसा वनेमलाई आफ्नो पेसाभन्दा फरक क्षेत्रमा पनि प्रतिष्ठा आर्जन गर्न सकिने विश्वास पलाएको छ । उनले सानैदेखिको आफ्नो रुचिलाई साकार पार्न मिस लिम्बू प्रतियोगितामा भाग लिन प्रतिष्ठानबाट दुई महिनाको बिदा नै लिएकी छन् ।

फेसन मोडलिङ र ब्युटी पेजेन्ट जस्ता कार्यक्रमबाट पनि महिलाहरूको लुकेको प्रतिभा उजागर गर्न सकिने तर्क गर्ने डा. एलिसाले याक्थुङ युथ एसोसिएसनले गर्न लागेको मिस लिम्बूको धरान अडिसन पार गरेकी छन् । उनी प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत छिन् । अभिभावकहरूले पनि उनलाई साथ दिएकोले सौन्दर्य प्रतियोगितामा भिडन्त गर्न आएको बताइन् । 'पेसाले बिरामीको उपचार सेवा गर्ने चिकित्सक भए पनि मेरो आन्तरिक चाहना र इच्छा फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा सहभागी हुनु हो,' उनले भनिन्, 'यो क्षेत्रलाई सकारात्मक भएर सोचेमा महिलाहरूले आफूलाई समय सापेक्ष परिवर्तन गर्न सक्छन् भन्ने लाग्छ ।'

पूर्वको लागि धरानमा शनिबार सम्पन्न अडिसनबाट डा. एलिसा जस्तै कोही शिक्षिका, कोही व्यवसायी त कोही मिडिया क्षेत्रका गरी ११ युवती छनोट भएका छन् । अडिसनमा डेढ दर्जन युवती सहभागी थिए । मिस लिम्बूमा भिड्न आएकी झापा दमककी सीता लोरिङ्देन स्थानीय एफएममा कार्यरत छिन् । मिडिया तालिमपछि दमकको सप्तरंगी एफएममा कार्यक्रम सञ्चालन गरेर स्थानीय स्तरमा ख्याति कमाएकी संचारकर्मी सीताको लक्ष्य छ- मिस लिम्बूको ताज पोल्टामा पारेर सांस्कृतिक पहिचान फैलाउने । अडिसनपछि उनले भनिन्, 'सौन्दर्यसँगै आफ्नो प्रतिभा पनि देखाउने माध्यमको रूपमा मिस लिम्बू प्रतियोगितालाई सदुपयोग गर्ने मेरो मूल उद्देश्य हो ।'

अडिसनका लागि दुई दिनअघि नै संखुवासभाबाट आएकी रेखा लिम्बूले चाहिँ आफ्नो क्षेत्रमा सामाजिक काम गरेर देखाउने चाहना व्यक्त गरिन् । छनोटमा परेकामध्ये मोरङ उर्लाबारीकी अनिता लिम्बू, एलिना लिम्बू, धरानकी सञ्जिता संयोक्पा, निशा वनेम, पुनम लिम्बू, दीपा लिम्बू, ताप्लेजुङकी शोभा साँवाले प्रतियोगिताको माध्यमबाट आफ्नो समुदाय, समाज र क्षेत्र चिनाउने उद्देश्य रहेको बताए ।

आयोजक संस्थाका अध्यक्ष विश्व साम्याङ्खामका अनुसार प्रतियोगितामा विश्वभरि छरिएर रहेका लिम्बू समुदायका युवतीले भाग लिन पाउने छन् । 'नागरिकता जुनसुकै मुलुकको लिए

पनि मिस लिम्बूमा सहभागी हुन पाउने छन्,' उनले भने, 'प्रतियोगिताको मुख्य विषेशता भनेको नै यही हो ।'

प्रतियोगिता संयोजक मीना सिङ्गकले बिशुद्ध सौन्दर्यसँगै बौद्धिक मिश्रणको आधारमा प्रथम मिस लिम्बू प्रतियोगिता गर्न लागेको बताइन् । उनले लिम्बू समुदायको कला र संस्कृतिमा रहेको पृथक पहिचान उजागर गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताइन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी भदौ ५ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताइएको छ ।

राजधानीमा बसोबास गर्ने लिम्बू समुदायका युवतीका लागि साउन २० गते ललितपुरको चुम्लुङ हिममा अडिसन हुने आयोजकले जनाएको छ । विजेताले नगद ५० हजार रुपैयाँसँगै शीर्ष ताज पाउने

छन् । फस्र्ट रनर अपलाई २५ हजार रुपैयाँ, सकेन्ड रनर अपलाई १५ हजार रुपैयाँ र अन्य आकर्षक पुरस्कार दिइने बताइएको छ । प्रतियोगितामा युमा मिस कल्चरल, मिस टयालेन्ट, मिस पर्सनालिटी, मिस फोटोजेनिक, मिस बेस्ट फिगर, मिस क्याट्वाक, मिस बेस्ट ड्रेसेज, मिस भ्युवर च्वाइस, मिस चार्मिङका उपाधि पनि रहने संयोजक सिंगकले बताइन् ।

No comments:

Post a Comment